राजनीति

मधेश प्रदेश सरकारमा कांग्रेसको दाबी



जनकपुरधाम, २३ असोज । मधेश प्रदेशमा कांग्रेसले बुधबार तीन दलका ५८ सांसदको समर्थनसहित सरकार नेतृत्वका लागि दाबी पेस गरेको हो ।

एमाले र जनमत पार्टीको समर्थनमा कांग्रेसले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेको छ । एमालेले बुधबार दिउँसो मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसलगत्तै नयाँ सरकार गठनका लागि कांग्रेसले दाबी पेस गरेको हो । यसअघि नेपाली कांग्रेसले यही असोज ८ मा र जनमत पार्टीले गएको भदौ २८ मा सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

मधेश प्रदेशसभामा १ सय ७ सांसद छन् । सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो ।