काठमाडौँ, २३ असोज । बजारमा तने बोडी र घिउसिमीको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तने बोडी र घिउ सिमीको थोक मूल्य बढेको हो ।
कालीमाटी बजारमा हिजो प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तने बोडी आज १ सय १२ रुपैयाँमा किनबेच भइरहेको छ । आज तने बोडीको भाउ किलोको २७ रुपैयाँ वृद्धि भएको हो ।
यस्तै आज घिउसिमीको भाउ पनि प्रतिकिलो थोकमा ८ देखि १५ रुपैयाँ बढेको छ ।
हिजो प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको घिउसिमी लोकल आज बिहीबार १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै घिउ सिमी हाइब्रिड आज प्रतिकिलो ९३ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ । हिजो भने घिउसिमी हाइब्रिड प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।
तर, खुद्रामा भने उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपरेको छ । खुद्रामा तने बोडी र घिउ सिमी प्रतिकिलो १ सय ५० देखि १ सय ६० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्