काठमाडौँ, २७ असोज । पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब बढेपछि एमालेले मंसिर अन्तिम साता ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
भक्तपुरको गुन्डुमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले दुई महिनाभित्रै महाधिवेशन गर्ने निर्णय लिएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशन हुने स्थान र मिति केन्द्रीय कमिटी बैठकले तय गर्नेछ । केन्द्रीय कमिटी बैठक २९–३१ असोजमा हुँदै छ । एमालेको १० औ महाधिवेशन मंसिर २०७८ मा भएको थियो ।
एमालेको विधान महाधिवेशनले पदाधिकारीको ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्थालाई विधान महाधिवेशनले विधानबाट हटाएको हो । जेन–जी आन्दोलनपछि नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग एमालेमा उठेको छ । सचिवालय बैठकमा पनि नेताहरूले नेतृत्व हस्तान्तरण गर्न ओलीसँग माग गरेका थिए । अध्यक्ष ओलीले भने तत्काल अध्यक्ष छाड्न अस्वीकार गर्दै आएका छन् । तर विगतमा आफ्ना विश्वास पात्रका रूपमा चिनिएका नेताहरू समेत विपक्षमा उभिन थालेपछि ओली अप्ठ्यारोमा परेका छन् ।
एक पदाधिकारीका अनुसार केन्द्रीय सचिवालयका १८ मध्ये ५ जना मात्र ओलीको पक्षमा उभिएका छन् । ओलीको निरन्तरताका पक्षमा उभिने नेताहरूमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल र सचिव पद्मा अर्याल छन् । एमालेलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने धारणा राखे पनि नेतृत्व परिवर्तनका विषयमा उपाध्यक्ष रामबहादुर थापा र सचिव लेखराज भट्ट भने तटस्थ देखिएका छन् ।
ती पदाधिकारीका अनुसार ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा वरिष्ठ उपाध्य ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र सुरेन्द्र पाण्डे छन् । त्यस्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा र रघुवीर महसेठ छन् ।
उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले लिखित धारणा राख्दै ७० वर्ष पुगेका नेताले विधिवत् रूपमा नेतृत्व छाड्नुपर्ने प्रस्ताव शुक्रबार राखेका थिए । पहिलो पुस्ताका नेताहरूको सम्मानपूर्वक बिदाइ हुनुपर्ने उनीहरूको भनाइ थियो ।
एमालेले २६ असोजमा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ । पार्टी सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग अघि सारेको छ । दलहरूले निर्बाध ढगले गतिविधि गर्ने अवस्था नभएकाले निर्वाचनमा जाने अवस्था नभएको उपमहासचिव ज्ञवालीले बताए ।










प्रतिक्रिया दिनुहोस्