Uncategorized

मधेश सरकारबाट लोसपाले लियो समर्थन फिर्ता



जनकपुरधाम, २८ असोज । मधेश प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि समर्थन फिर्ता लिएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहको सरकार अल्पमतमा परेपछि अन्तिम समयमा अहिले लोसपाले पनि समर्थन फिर्ता लिएको हो । आज मुख्यमन्त्री सिंहले मधेश प्रदेशसभामा विश्वासको मत लिनेछन् । तर, सिंह नेतृत्वको मन्त्रिपरिषद्का सबै मन्त्रीले राजीनामा दिइसकेका छन् । यसअघि कांग्रेस, एमाले र मुख्यमन्त्री सिंहको पार्टी स्वयंले समर्थन फिर्ता लिई आफ्ना मन्त्रीलाई बोलाइसकेका छन् । लोसपाबाट शिक्षा तथा संस्कृतिमन्त्री बनेकी रानी शर्मा तिवारीले आज राजीनामा दिएकी छन् ।

मधेश प्रदेशसभामा १ सय ७ सदस्य छन् । हाल १ सय ५ जना सांसद छन् । लोसपाका अभिराम शर्मा र एमालेका दीपेन्द्र ठाकुर निलम्बित छन् । मधेश प्रदेशमा एमालेका २४ (एक निलम्बित), कांग्रेसका २२, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ९ (एक निलम्बित), एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका १/१ जना प्रदेशसभा सदस्य छन् । कांग्रेसको नेतृत्वमा एमाले र जनमतले सरकार बनाउने तयारी गरेका छन् ।

नयाँ सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ । तर, यी दलहरूले ५८ सांसदको समर्थन रहेको दाबी गर्दै आएका छन् ।