राजनीति

सरकारको प्रवृत्ति स्वीकार्य नहुने वर्षमान पुनको चेतावनी



काठमाडौँ, १ कार्तिक । नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य वर्षमान पुनले सरकारले आफ्नो पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन् । माओवादी केन्द्र र पार्टीका पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुसन्धानका नाममा तर्साउन खोजिएको उल्लेख गर्दै उनले यसप्रकारको प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए ।

शनिबार पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले ‘जेनजी’ आन्दोलनलाई अत्मसात् गरेर निर्वाचनमा भाग लिन तयार भएको उल्लेख गरे । उनले माओवादीका नेता–कार्यकर्ता, विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने कार्य भइरहेको उल्लेख गरे ।

उनले भने, “हामी जेनजीका बलिदानलाई सार्थक बनाउने गरी जान्छौँ । तर, यसमा हामीलाई टार्गेट गर्ने, २३ गते त्यत्रा दर्जनौँ नानीहरूको हत्या गर्नेहरूलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने, अनि गएर प्रचण्ड कमरेडतिर गएर तेर्साउन खोज्ने ? हाम्रा कोही नेतातिर तेर्साउन खोज्ने हामी स्वीकार्दैनौँ । यसप्रकारका बेठिक प्रवित्ति हामी स्वीकार्दैनौँ ।”