राजनीति

प्रधानमन्त्री कार्कीद्वारा पर्वहरुको शुभकामना



काठमाडौँ, ३ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह: पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन्।

आज जारी गरिएको शुभकामना सन्देशमा उनले यी पर्वहरूलाई जीवनमा आशा, विश्वास र समृद्धिको प्रतीक तथा अन्धकारमाथि उज्यालोको विजयका रूपमा लिइएको उल्लेख गरेकी छन् । कठिन परिस्थितिमा एकताबद्ध रहने नेपाली मौलिक संस्कृति नै भएको उल्लेख गरेकी छन् ।

सन्देशमा भनिएको छ, ‘कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ । भदौको महान् जेनजी आन्दोलनले सरकारलाई सुम्पेको भरोसा र दायित्वको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने प्रतिबद्धता सरकारले लिएको छ ।’