काठमाडौँ, ४ कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानवतावादी मूल्य र अन्तरराष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभामा सोमबार सम्बोधन गर्दै उनले अनेक प्रकारका सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन, अस्थिरता र भ्रष्टाचारका कारण विश्व समुदायले सामना गरिरहेका चुनौतीलाई प्रभावकारी रूपमा समाधान गर्न संसद्हरूको भूमिका निर्णायक हुने धारणा राखे ।
नेपालको सङ्घीय संसद्ले प्रविधिमा आधारित नागरिक अधिकार प्रवर्द्धन प्रणाली सञ्चालनमा ल्याएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको मानव अधिकार र कानूनी शासनप्रतिको प्रतिबद्धता व्यक्त गरे ।
नेपालको विश्व तापक्रम वृद्धिमा योगदान ०.०२७ प्रतिशत मात्र भए पनि जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणालीमा गम्भीर सङ्कट ल्याएको बताउँदै उनले साना र अविकसित मुलुकलाई विशेष रूपमा कूटनीतिक, आर्थिक र सामाजिक सहयोग प्रदान गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरे ।
हालै नेपालका जेनजी युवाको अगुवाइमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनले सुशासन र सामाजिक न्यायप्रतिको जनताको आकाङ्क्षा प्रकट गरेको अध्यक्ष दाहालले बताए । सङ्घीय संसद्ले संविधान र लोकतान्त्रिक मापदण्डको भावनाअनुसार उक्त प्रदर्शनबाट उत्पन्न सन्देशलाई आत्मसात् गर्दै सुशासन र समावेशी लोकतन्त्रका लक्ष्यमा कार्य अघि बढाएको उनले स्पष्ट पारेको छ ।










प्रतिक्रिया दिनुहोस्