राजनीति

सर्वदलीय बैठकमा गृहमन्त्री अर्यालको आलोचना



काठमाडौँ, ५ कार्तिक । जेन-जी आन्दोलनपछि चुनावी प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक राजनीतिक दलहरूसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्रीले दलका नेताहरूसँग ‘पर्यवेक्षक’ राखेर गरेको संवादमा गृहमन्त्री ओम अर्यालका अभिव्यक्ति र गतिविधिको आलोचना भएको छ । चुनाव गराउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने जिम्मेवारीमा रहेका गृहमन्त्री अर्यालले दलका नेताहरूलाई लक्षित गर्दै दिएका अभिव्यक्ति र पद सम्हालेपछि गरिरहेका गतिविधिको दलका नेताहरूले आलोचना गरेका हुन् । चुनाव गराउनका लागि गठित सरकारका गृहमन्त्रीले राजनीतिक दलमाथि विजय हासिल गरेको जस्तो अभिव्यक्ति र व्यवहार देखाएको भनेर नेताहरूले आलोचना गरेका थिए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार दलहरूलाई निषेध र अपमानित गर्ने, नेताहरूलाई होच्याउने लगायतका गृहमन्त्रीका अभिव्यक्तिको आलोचना भएको बताए । एमालेले सुरक्षा चुनौती रहेका नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने कार्य गलत भएको बताएको थियो । बैठकमा सहभागी एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि गृहमन्त्री अर्यालको आलोचना भएको बताए ।

चुनाव गराउन गठित सरकारका गृहमन्त्रीको व्यवहार र अभिव्यक्तिले वातावरण नबन्ने हो कि भन्ने आशंका दलहरूले गरेका थिए । राजनीतिक दलहरूले लुटिएका हतियार प्रयोग नगर्ने र भागेका कैदीबन्दीलाई चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, भदौ २४ को लुटपाट, आगजनी र प्रहरीको हत्यामा संलग्नलाई कारबाही नगर्नु भनी गृह मन्त्रालयले जारी गरेको पत्र, कांग्रेस नेता दीपक खड्का भागे र अरू नेता पनि भाग्दैछन् भनी गृहमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर अर्यालको आलोचना भएको थियो ।