काठमाडौँ, ७ कार्तिक । देशको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले रणनीतिक महत्त्वका ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ ।
त्यसक्रममा एक हजार ४०० किलोमिटरभन्दा बढी सडकको ‘पाइलट ट्रयाक’ खोली सरकारलाई हस्तान्तरण गरिसकेको नेपाली सेनाको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोरको खार्पुनाथस्थित चुवा खेलामा बेलिबृज जडानपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । नेपाली सेनाले हाल खाँदवारी–किमाथाङका, कर्णाली करिडो, बनीघाट–आरुघा–लर्कभञ्ज्याङ र दार्चुला–टिंकरणसहितका पाँच वटा सडक आयोजनाअन्तर्गत करिब २७४ किलोमिटरभन्दा बढी सडक निर्माण गरिरहेको छ ।
नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौँ–तराई मधेस द्रुतमार्ग सडक निर्माणको काम तदारुकताका साथ अघि बढिरहेको उनले बताए । कूल ७०.९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल ४३.६ र वित्तीय प्रगति ४४.७२ रहेको आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले जानकारी दिए ।
द्रुतमार्ग अन्तर्गत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल रहने छन् । आयोजनाअन्तर्गतका सात वटा सुरुङमध्ये दुई वटा छिचोलिएको, दुई वटा निर्माणाधीन रहेका र तीन वटाको ‘पोर्टल’ कार्य भइरहेको सेनाले जनाएको छ ।
त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति वि.सं. २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न हुने झाले स्पष्ट पारे ।










प्रतिक्रिया दिनुहोस्