Banner News

विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ले देश भुङ्ग्रोमा गयो : दुर्गा प्रसाई



काठमाडौँ, ९ कार्तिक । ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईले देशलाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत सुनियोजित रूपमा कमजोर बनाइएको दाबी गरेका छन् ।

आज सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले देशलाई लुटतन्त्रबाट बचाउने अभियान सुरु गरेको बताए ।

आफूलाई ‘पढेलेखेको नभई भोगेको र बुझेको’ व्यक्ति भन्दै प्रसाईले एक रुपैयाँरबाट आफ्नो व्यावसायिक साम्राज्य खडा गरेको बताए । उनले भने, ‘मलाई बैंकको ब्याज नतिर्न आन्दोलन गर्‍यो भनेर आरोप लगाइयो, तर आज म तपाईंका हातमा प्रमाण राखिदिन्छु,’ ‘म नेपालको सफल व्यवसायी हुँ, तर आफूलाई व्यापारी वा व्यवसायी भन्दिनँ।’

उनले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण प्रस्तुत गर्दै २०८२ सालसम्मको विवरण देखाएका थिए। साथै, आफ्नो लगानीको बीएन्डसी मेडिकल कलेजले सबैभन्दा बढी विद्युत् खपत गरी नियमित महसुल तिरेको भन्दै कोशी प्रदेशबाट उत्कृष्ट उपभोक्ताको सम्मान पाएको र त्यो सम्मान आफू प्रहरी हिरासतमा हुँदा पाएको उनले बताए।

प्रसाईले देशमा राजसंस्था र हिन्दू राष्ट्र हटाउनु ‘ग्रान्ड डिजाइन’को हिस्सा भएको दाबी गरे। उनले भने, ‘किन गिरिजाप्रसादले ‘ग्रान्ड डिजाइन’ भनिरहन्थे? किन राजसंस्था र हिन्दू राष्ट्र हटाउनु परेको थियो? यो खेल अहिले आएर प्रस्ट भयो।’ उनले सिंहदरबार र सर्वोच्च अदालतजस्ता सम्पदामा आगलागी हुनुले व्यवस्था नै सकिएको संकेत गरेको टिप्पणी गरे।

उनले हालैको ‘जेनजी’ आन्दोलनमा आफू सहभागी हुन खोज्दा रोकिएको र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिँदै भने, ‘उहाँले मलाई बचाउनुभयो, नत्र म थुनामा हुन्थें।’ यद्यपि, उनले सिंहदरबारमा आगो लाग्दा बालेनका नगर प्रहरीले दमकल पठाउनुको साटो आन्दोलनकारीलाई पानी बाँडेको भन्दै आलोचना गरे।