राजनीति

श्रम रोजगार मन्त्रीमा सिफारिस सुनारको शपथ रोकियो



काठमाडौँ, ९ कार्तिक । सुशीला कार्की नेतृत्वको सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस खगेन्द्र सुनारको शपथ नहुने भएको छ । फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि उनको शपथ नहुने भएको हो । 

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा सुनारलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने उल्लेख थियो । अहिले प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रपति कार्यालय पुगेर सुनारलाई शपथ नगराउने जानकारी गराएका राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएपछि सञ्चारमाध्यमहरूमा समाचार आएका थिए । 
स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।