समाचार

डोटीमा एक शिक्षिका मृत फेला 



काठमाडौँ, १२ कार्तिक । डोटीमा एक शिक्षिका मृत फेला परेकी छन् ।

सो घटनापछि शिक्षा अधिकृत पक्राउ परेका छन् । प्रहरीका अनुसार पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

शिक्षिका खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन् । उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन् ।

घटनापछि प्रहरीले घटनासँग सम्बन्धित भन्दै शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका रावलमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा अनुसन्धान अघि बढाइएको छ ।

घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेपछि प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ । मृतक खड्काको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।