राजनीति

नेताको सुरक्षामा खटिएका ४९८ सुरक्षाकर्मी फिर्ता



काठमाडौँ, १४ कार्तिक । मापदण्डविपरीत नेताको सुरक्षामा खटिएका ४९८ सुरक्षाकर्मीलाई सरकारले फिर्ता गरेको छ ।

गत २३ असोजमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार हालसम्म ४९८ जना फिर्ता भएको विवरण प्रहरीबाट आएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । बिहीबारसम्मको तथ्यांकअनुसार ३६६ नेपाल प्रहरी र १३२ जना सशस्त्र प्रहरी बलबाट फिर्ता भएका छन् । 

अति विशिष्ट र विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०८१ विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता भएका हुन् । पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा खटिएका संख्या कटौती गरिएको छ । पूर्वप्रधानमन्त्रीले १६ जनासम्म सुरक्षाकर्मी पाउने कार्यविधिमा उल्लेख छ । तर, त्योभन्दा धेरै खटाइएकाहरू फिर्ता गरिएको हो । 

नेपालको हकमा भने भ्रष्टाचार मुद्दाको प्रतिवादी भएकाले पूर्वप्रधानमन्त्रीको हैसियतमा सुरक्षामा खटिएकालाई फिर्ता गरेर दुईजना मात्र राखिएको छ । पूर्वमन्त्री र अवकाशप्राप्त सुरक्षा अधिकारीको घरमा खटिएका सुरक्षाकर्मी पनि फिर्ता गरिएको छ ।