Banner News

क्रान्ति अब टाढा छैन : प्रचण्ड



काठमाडौँ, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै हालको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गरे । त्यसनिम्ति सरकारमा हुँदा प्रयास र बाहिर रहँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको उनले बताए ।

उनले भने,  “२३ र २४ का घटनाक्रमले देखाएको छ, क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ,” “जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ ।”

हरेक नेतृत्वले आश्वासन दिने तर परिणाम ढिलो हुँदा सहिद परिवारमा आक्रोश आउनु स्वाभाविक भएको उनले बताए । “हाम्रो निरन्तरको प्रयासमा सहिद घोषणा, विधेयक निर्माण र आयोग गठन भएका छन् । तर, ती आयोगहरूले अपेक्षित परिणाम दिन सकेका छैनन्,” उनले भने ।