काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ ।
महाधिवेशनको तालिका ल्याउने/नल्याउने विषयमा देखिएको विवाद समाधानका निम्ति आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक डाकेका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे प्रस्ताव प्रस्तुत गरे ।
पदाधिकारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माको प्रस्ताव पढ्नोस्–
१. ‘इस्यु’भन्दा ‘इगो’ केन्द्रमा रह्यो भने जुनसुकै राजनैतिक दल समस्यामा पर्छन् । आजको मितिमा कांग्रेसले राष्ट्रिय राजनीति र आन्तरिक जीवन दुवैमा इगोमुक्त भएर आफूलाई प्रस्तुत गर्न सक्नैपर्छ ।
२. एकथरी विचार राख्नेले नेतृत्वले अर्कोथरी विचार राख्नेलाई सार्वजनिक टिप्पणी गर्दा या शुभेच्छुकहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदा आपसी सम्मानको हेक्का राखौँ ।
३. मंसिर या वैशाख भनेर छलफलमा रहेका महाधिवेशनको दुई मितिभन्दा मध्यमार्गी समाधानको पुस १६–१९ को मितिमा सहमत बनौँ ।
४. सहमति जुट्न नसक्दा पक्ष–विपक्षमा धेरै विभाजित नबनौँ । एकातर्फ केन्द्रीय समितिको बहुमत छ, अर्कातर्फ ५४% महाधिवेशन प्रतिनिधिको बहुमत छ । दुवै बहुमतको मर्यादा राख्दै दुवै बहुमतभन्दा माथिको निकाय महासमितिको राय डिजिटल भोटिङ सिस्टमबाट लिऊँ ।
५. महासमिति सदस्यसमक्ष दुई छनोट राखौँ–
(क) पार्टीको १५औँ महाधिवेशन आमनिर्वाचनअघि गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जान उचित,
(ख) कि आमनिर्वाचनपछि महाधिवेशन गर्न उपयुुक्त ?
६. डिजिटल भोटिङको माध्यमद्वारा राय या मत संकलन प्रविधिको यो जमानामा सामान्य प्रक्रिया हो । दुई दिनमा नै यो प्रक्रिया सकिन्छ । एउटा पुरानो दलमा यसको अभ्यासले विशेष सन्देश पनि दिनेछ । स्वदेश र विदेशमा छरिएर रहेका महासमिति सदस्यहरूको राय र मत संकलन गर्ने विकल्प अहिलेको समयमा अत्यन्तै लोकतान्त्रिक र अत्यन्तै महत्त्वपूर्ण हुनेछ ।










प्रतिक्रिया दिनुहोस्