समाचार

छोराको कुटपिटबाट बुवाको मृत्यु



काठमाडौँ, १६ कार्तिक । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकी छन् ।

बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीया दिलमाया बिकलाई हसिया र काठको मुंग्रोले प्रहार गरेका थिए । धनबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बिकको मानसिक सन्तुलन ठीक नभएको खुलेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।