समाचार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ



काठमाडौँ, १७ कार्तिक । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका–३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार पक्राउ गरेको हो ।

राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । सोही आधारमा प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–११ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी जनाएको छ ।