राजनीति

विद्युतीय चार्जिङ स्टेसन नीति चाँडै परिमार्जन हुन्छ : मन्त्री घिसिङ



काठमाडौँ, १८ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनको नीति चाँडै परिमार्जन हुने बताएका छन्।

आज काठमाडौँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जानकारी दिएका हुन् ।

मन्त्री घिसिङले विद्युतीकरणको दायरा फराकिलो बनाउन सरकारले यातायात र खाना पकाउने लगायतका क्षेत्रमा बिजुलीको खपतमा जोड दिने नीति लिएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउने काममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

उनले ‘विन्ड इनर्जी’ (वायु ऊर्जा) को क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए । विन्ड इनर्जीको क्षेत्र पनि नेपालको लागि सम्भावनाको क्षेत्र भएकाले यसमा काम गर्न इच्छुक निजी क्षेत्रलाई सहयोग गर्ने मन्त्री घिसिङको योजना छ ।