Banner News

मेरो निष्ठा पार्टीप्रति र त्योभन्दा बढी देशप्रति छ: महामन्त्री थापा



काठमाडौँ, २० कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीको महाधिवेशन केवल नेतृत्व चयन वा नियमित प्रक्रिया मात्र नभएर देश र नागरिकको विश्वास जित्नका लागि समीक्षा र सङ्कल्प गर्ने अनिवार्य सर्तको अडान कुनै व्यक्तिगत वा सत्ता-शक्तिका लागि नभएर पार्टी र देशप्रतिको निष्ठाका कारण भएको बताएका छन् ।

 सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले भदौ २३ गतेको युवा आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै पार्टी सच्चिनका लागि महाधिवेशनको विकल्प नभएकोमा जोड दिए । पार्टीको महाधिवेशन केवल नेतृत्व चयन वा नियमित प्रक्रिया मात्र नभएर देश र नागरिकको विश्वास जित्नका लागि समीक्षा र सङ्कल्प गर्ने अनिवार्य सर्त भएको बताएका छन् ।

‘सुधार भनेको धोका होइन, यो निष्ठाको सबैभन्दा ठुलो रूप हो,’ उनले भने, ‘मेरो निष्ठा पार्टीप्रति र त्योभन्दा बढी देशप्रति छ । सुध्रिएको कांग्रेसले मात्र देशप्रतिको जिम्मेवारी पूरा गर्न सक्छ ।’

उनले पहिलो पटक कांग्रेसको नेतृत्वविना भएको आन्दोलन पार्टीकै विरुद्धमा समेत लक्षित भएको यथार्थलाई बिर्सेर अगाडि बढ्न नसकिने बताए । पार्टीभित्रको सुधार राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले पार्टी सुध्रिए मात्र देशको अवस्था सुधार्न सकिने तर्क गरे।

उनले भने, ‘हामी संसद्को पहिलो पार्टीबाट आज सडकमा छौँ। हाम्रो प्रासङ्गिकतामाथि नै प्रश्न उठेको छ। हामीलाई साहस होइन, सम्झौतासँग: निष्ठा होइन, भ्रष्टाचारसँग र आदर्श होइन, अवसरवादसँग जोडेर हेरिँदैछ । यस्तो बेला हामी कहाँ, किन र कसरी चुक्यौँ भनेर समीक्षा गर्नुपर्दैन ? हामीले कहाँ गल्ती गर्‍यौँ भनेर समीक्षा गर्ने, त्यसलाई सच्याउने प्रतिबद्धता जनाउने र अब बदलिन्छौँ भनेर नागरिकलाई विश्वास नदिलाएसम्म हामी उनीहरूको बिचमा जाने नैतिक आधार रहँदैन । हामी नसुध्रिई, नबदलिई नागरिकको आन्दोलनमा ऐक्यबद्धता जनाउन जानु केवल औपचारिकता मात्र हुन्छ । त्यसैले यो महाधिवेशनको बहस कांग्रेसको आन्तरिक विषय मात्र होइन, यो आम नागरिकको सुधारको मागसँग पनि जोडिएको छ ।’