Banner News

जेन जी अभियान्तालाई शंकर पोखरेलको चुनौति : तपाईंका सुशासन आदर्शसँग म परीक्षण हुन चाहन्छु



काठमाडौँ, २१ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको पक्षमा भए पनि भ्रष्टचारी विरोधी निशानमा परेकोमा दुःख व्यक्त गर्नु भएको छ । भदौ २४ गतेको तोडफोडमा आफ्नो घर जलाइएपछिको एक अनुभुती लेख्दै पोखरेलले आफ्नो पारिवारिक,राजनीतिक र संसदीय यात्राका अन्तरंगहरु सार्वजनिक गर्नु भएको छ ।

जेन जी आन्दोलनमा घरमा आगलागी र तोडफोड गराइएपछि करिब दुई महिना साथीको घरमा बसेको र हिजो देखि फ्ल्याट लिएर पुन डेराको जीन्दगी सुरु भएको पोखरेलले उल्लेख गर्दै जीवनका उतारचढाव भावनात्मक रुपमा सार्वजनिक गर्नुभएको हो ।

सामाजिक सञ्जालमा लामो वृतान्त लेख्दै पोखरेलले आफू पनि संसद भएका बेला प्राडो र पजेरो संस्कृति भित्रिए पनि आफूले त्यस्तो सुविधा नलिएको,गम्भिर प्रकृतिको रोग लाग्दा पनि राज्यबाट उपचार सहयोग नलिएको,लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका बेला पुँजीगत खर्च शतप्रतिशत गरेको र आफुले सम्हालेको अर्थ मन्त्रालयमा समेत बेरुजु शुन्य रहेको उल्लेख गर्नुभएको छ ।

‘मैले अहिलेसम्म हरेक काममा आफुलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरें’ पोखरेलले लेख्नु भएको छ ‘तर भ्रष्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निशानामा हाम्रो परिवार पर्न गयो ।’

पोखरेलले आफ्नो परिवारमा दाङमा शिक्षा र समाजसेवाका लागि ३ सय विगाहा भन्दा बढी जग्गा दान गरेको उल्लेख गर्नुभएको छ । दाजुभाइसँग अंशवण्डा गरेर हाल आफूसँग चार विगाहा जग्गा रहेको बताउनुभएको छ । पोखरेलले आफूले १६ वर्षको उमेर देखि पढाइका लागि घर छोडेको,त्यसपछि राजनीतितर्फ आकर्षित भएको,अध्ययनकै क्रममा बनारस बस्दा नेपाली समुदायसँग मिलेर समाजसेवा र राजनीति गरेको पनि स्मरण गर्नुभएको छ । बनारसको पढाइ सकेर नेपाल फर्किएपछि अनेरास्ववियुको नेपाल बन्दका क्रममा घोराहीमा पक्राउ परेको र करिब पाँच महिना जेल जीवन बिताएको पनि पोखरेलले उल्लेख गर्नुभएको छ ।

कोटेश्वरमा रहेका चार आना जग्गा आफ्नी जेठी सासु (सुजिता शाक्यकी दिदी)ले दिएको र दाजुले पुख्र्यौली सम्पती बेचेर पठाएको पैसाले घर बनाएको प्रष्ट पार्नु भएको छ । ‘अमेरिकामा डि.भि परेर जानु भएकी सुजिताकी दिदीले किन्नु भएको चार आनाको घडेरी बैनीलाई दिनुभयो । पैत्रिक सम्पतीको जग्गा बिक्रिबाट दाजुले पठाएको रकमले त्यहाँ घर बनायौं ’ महासचिव पोखरेलले लेख्नु भएको छ ।