राजनीति

माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्न माग गर्दै आयोगमा निवेदन दर्ता



काठमाडौँ, २१ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ लाई यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

सहिद सन्तति सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरू शुक्रबार आयोग पुगेर निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा पार्टीको वर्तमान कार्यसमिति ‘महाधिवेशन आयोजक समिति’ मात्र भएको र विधानअनुसार यो केवल कामचलाउ प्रकृतिको रहेको दाबी गरिएको छ । ‘उक्त काम चलाऊ आयोजक समितिले पार्टी जीवनमा दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नसक्ने,’ निवेदनमा उल्लेख छ, ‘अर्को कुनै पार्टीमा विलय वा मर्ज गर्न तथा चुनाव चिन्ह र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न सक्दैन ।’