काठमाडौँ, २३ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुसभित्र महाधिवेशन गर्नैपर्ने बाध्यतामा पार्टी रहेको बताएका छन् ।
आज सामाजिक सञ्जालबाट महामन्त्री शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेकाले उनीहरूको मागलाई सम्बोधन गर्नैपर्ने बताएका हुन् ।
उनले भनेका छन्, “नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन । तर, विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२) को स्पष्ट निर्देशन छ । यो बाध्यात्मक छ,” ।
उनले अगाडि भनेका छन्, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखितरूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो । विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्दछ । यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रस्ट ढंकले बुझ्न जरुरी छ,” ।










प्रतिक्रिया दिनुहोस्