समाचार

५३२ जना डेङ्गी सङ्क्रमित फेला



काठमाडौँ, २५ कार्तिक । बागलुङ जिल्लामा ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेको हो ।

सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेङ्गी सङ्क्रमित देखा परेको हो । सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिरहेको बताइएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेपछि धौलागिरि अस्पताल बागलुङमा, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ ।