एजेन्सी, २६ कार्तिक । टर्कीको वायुसेनाको सी–१३० हर्कुलस सैन्य कार्गो विमान जर्जिया–अजरबैजान सीमानजिक दुर्घटना भएको छ ।
विमानमा उडान टोलीसहित २० सेना सवार रहेको रोयटर्सले जनाएको छ । मंगलबार भएको दुर्घटनामा कतिजनाको मृत्यु भयो भन्ने आधिकारिक पुष्टि हुन सकेको छैन ।
टर्कीको रक्षा मन्त्रालयले एक्समार्फत जानकारी दिँदै अजरबैजानबाट उडान भरेको एक सी–१३० सैन्य कार्गो विमान दुर्घटना भएको बताएको छ ।
अजरबैजान र जर्जियाका अधिकारीहरूसँग मिलेर संयुक्त उद्धार कार्य सञ्चालन भइरहेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले अंकारामा एक कार्यक्रमका दौरान दुर्घटनाको पुष्टि गर्दै भग्नावशेषसम्म पुग्ने प्रयास जारी भएको बताए । उनले भने, “अल्लाहले हाम्रा सहिदहरूलाई दया गरून् ।”
जर्जिया एयर नेभिगेसन अथोरिटीले बताएअनुसार विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरिसकेपछि त्यससँगको राडार सम्पर्क टुटेको थियो ।
जर्जियाको इन्टरप्रेस न्युज एजेन्सीका अनुसार, विमान पूर्वी जर्जियाको काखेती क्षेत्रमा अवस्थित सिघनाघी इलाकामा खसेको थियो ।
सी–१३० हर्कुलस एउटा चार इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान हो, जसलाई अमेरिकी कम्पनी लकहिड मार्टिनले बनाउँछ । यो विमान कार्गो, सैनिक र उपकरणहरू बोक्नका लागि प्रयोग गरिन्छ । र, यो तयारी नगरिएको रनवेमा पनि उडान भर्न र अवतरण गर्न सक्छ । राेयटर्स










प्रतिक्रिया दिनुहोस्