काठमाडौँ, २७ कार्तिक । गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ ।
नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाका अनुसार आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको हो ।
नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको हो ।
नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो । सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौँबाट बिहान ६:३० बजे र रेसुङ्गाबाट बिहान ७:३० बजे हवाई उडान गर्दै आएको छ ।
निगमले काठमाडौँबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ ।










प्रतिक्रिया दिनुहोस्