अर्थ

सरकारी मूल्यमा धान बेच्ने प्रबन्ध तत्काल मिलाउन प्रगतिशील राष्ट्रिय अभियानको माग



काठमाडौँ, २९ कार्तिक । तराई मधेसका जिल्लाहरूका धान उत्पादक किसानहरूले सरकारद्वारा तोकिएको न्यूनतम मूल्यमा पनि बेच्न नपाएको विषयप्रति प्रगतिशील राष्ट्रिय अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले तोकेको मूल्यमा किसानले बिना झन्झट चाहेजति धान बेच्न सक्ने तत्काल प्रबन्ध मिलाउन अभियानले सरकारसँग जोडदार माग गरेको । यो मागलाई सरकारले उपेक्षा गर्ने दुस्साहस गरेमा त्यसको परिणाम भयानक हुने चेतावनी समेत अभियानले दिएको छ । किसानले उत्पादन गरेको धान घाटा खाएर बेच्न बाध्य पार्नु भनेको किसानलाई पलायन गराउनु मात्र होइन, स्वदेशी उत्पादन प्रणालीलाई ध्वस्त पार्नु पनि रहेको अभियानको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘किसानले धान उत्पादनको लागि मल, बिउ किन्न लिएको ऋण तिर्न र घर खर्च धान्नको लागि ती कम्पनी र व्यापारीले नै तोकेको मूल्यमा धान बेच्न बाध्य पारिएको घटना आफैमा निन्दनीय छ ।’