समाचार

ठगी गर्ने दुई जना पक्राउ



काठमाडौँ, ३० कार्तिक । लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागि बेलायत र अस्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने ललितपुर महानगरपालिका–४ बस्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३१ वर्षीय मनोहर चौधरी र काठमाडौँ महानगरपालिका–१३ बस्ने प्युठानको गौमुखी गाउँपालिका–४ का २२ वर्षीय मेघराज सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकामध्ये चौधरीले बेलायत पठाइदिने भन्दै रु आठ लाख ५० हजार र सुनारले अस्ट्रेलिया पठाइदिने भन्दै रु २८ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो । दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।