राजनीति

एमाले जनतासँग अझ घनिष्ठ रूपमा जोडिन सफल भयो: महासचिव पोखरेल



सुर्खेत, ३० कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल एमालेले अहिले अघि सारेको जनप्रदर्शनलाई प्रतिगामी षड्यन्त्रका विरुद्ध ‘संविधान, लोकतन्त्र र जनताको पक्षमा पुनः उभिन खोजिएको अभियान’को रूपमा परिभाषित गर्नु भएको छ ।

शनिबार सुर्खेतस्थित शुभ होटेलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले  यसले पार्टी जनतासँग अझ घनिष्ठ रूपमा जोडिन सफल भएको दाबी गर्नुभयो । महासचिव पोख्रेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली राजनीति, समाज र शासन प्रणालीमा गम्भीर असर पारेको उल्लेख गर्दै ती घटनाहरू स्वतःस्फूर्त भावनात्मक आन्दोलन मात्र नभई रणनीतिक रूपमा हाइज्याक गरिएको आन्दोलन भएको दाबी गर्नुभयो।

उहाँका अनुसार पश्चिमी मुलुकहरूबाट थोपारिएको ‘जेन्जी’ नाम नै नेपाली समाजको उमेर–वर्गीकरणसँग मेल नखाने अवधारणा हो, जसले नयाँ र पुराना पुस्ताबिच मनोवैज्ञानिक दूरी सिर्जना गर्ने उद्देश्य बोकेको छ। यसै क्रममा उहाँले डिजिटल प्लेटफर्ममा फैलिएका हानिकारक सामग्री, एआई–निर्मित भिडियो, फेक अकाउन्ट र साइबर अपरेसनका कारण आन्दोलन हिंसामा परिणत भएको दाबी गर्दै ३३ प्रतिशतभन्दा धेरै सामग्री बाह्य स्रोतबाट निर्माण गरिएको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टले देखाएको जानकारी दिनुभयो।

उहाँले काठमाडौँमा भएको विनाशकारी आगजनी र सरकारी–निजी सम्पत्तिमाथि भएको योजनाबद्ध आक्रमणलाई साधारण असन्तुष्ट युवाहरूको कदमका रूपमा व्याख्या गर्न नमिल्ने बताउँदै त्यसमा ‘विशेष तयारी, रणनीति, रासायनिक प्रयोग र भूराजनीतिक संलग्नता’को सम्भावना औँल्याउनुभयो। आफ्नो घरमा भएको आगलागीको विवरण प्रस्तुत गर्दै उहाँले स्टिल र्‍याक पग्लिनु, ढलान जलेर भत्किनुजस्ता घटना पेट्रोल–डिजेलको कारण मात्र हुने नसक्ने उल्लेख गर्दै सो सबै क्रियाकलाप ‘योजनाबद्ध षड्यन्त्र’अन्तर्गत सञ्चालन भएको दाबी गर्नुभयो।

महासचिव पोख्रेलले युवापुस्ताको जायज माग सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल स्वतन्त्रतालाई एमालेले सम्मान गर्ने स्पष्ट पार्दै ती मागलाई दुरुपयोग गरी स्वार्थी समूहहरूले आन्दोलनलाई हिंसातर्फ धकेलेको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘युवाको नाममा भएको हिंसा वास्तविक युवाको नेतृत्वमा थिएन, तर देश अस्थिर पार्ने उद्देश्यले सक्रिय भूराजनीतिक एजेन्ट र स्वार्थी तत्त्वका कारण बढाइएको हो।’

प्रतिनिधि सभा विघटन, सरकार निर्माण र वर्तमान राजनीतिक गतिरोधबारे बोल्दै महासचिव पोख्रेलले अहिलेको सत्ता संरचनालाई संविधानले नचिनेको बताउनुभयो। उहाँका अनुसार  पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्रीका भूमिकामा उभिनु नै संविधानको मर्म विपरीत हो, र दलहरूबिच सहमति नबनाई गरिएको प्रतिनिधि सभा विघटन लोकतान्त्रिक संरचनालाई कमजोर पार्ने प्रयासको हिस्सा हो।

उहाँले विगतमा एमाले नेतृत्वको विघटनलाई अहिलेको घटनासँग तुलना गर्नै नहुने बताउँदै त्यति बेला विश्वासको आधारमा गरिएको निर्णय सर्वोच्च अदालतले उल्टाउँदा आफूहरूले सम्मानपूर्वक स्वीकार गरेको उल्लेख गर्नुभयो। अहिले भने विघटन प्रक्रिया नै संविधान र कानुनी ढाँचाबाहिरबाट गरिएको पोखरेलको भनाइ छ ।

महासचिव पोख्रेलले विगतका राजनीतिक उतारचढावमा एमालेले खेलेका भूमिकालाई स्मरण गर्दै, माओवादीसहित सबै राजनीतिक दललाई शान्ति प्रक्रियामा ल्याउनेमा एमालेकै महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले २००४ साल, पञ्चायत, २०४६, तथा २०६२/६३ का आन्दोलनहरूको उदाहरण प्रस्तुत गर्दै, ‘विजेता पक्षले देश निर्माणतिर लागेको इतिहासमा निजी घर, कार्यालय र सार्वजनिक सम्पत्तिमाथि योजनाबद्ध आक्रमण भएको थिएन’ भन्दै हालका घटना असामान्य र संगठित स्वभावका रहेको टिप्पणी गर्नुभयो।

चुनाव र एमालेलाई ‘चुनावबाट डराएको’ भन्ने टिप्पणीको खण्डन गर्दै उहाँले एमाले चुनाव भाग्ने नभई निर्वाचन नै हुन नदिने षड्यन्त्रविरुद्ध लडिरहेको बताउनुभयो। उहाँका अनुसार संसद् पुनर्स्थापना हुनु लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम हो र एमाले जनतासँग मिलेर सो अभियानलाई सफल बनाउन अग्रसर छ। यसै क्रममा उहाँले काठमाडौँमा मंसिर ६ गतेका लागि तय गरिएको ठुलो जनसभाले भदौ २३/२४ पछि घटेको मनोबल समेत उठाउने विश्वास व्यक्त गर्नुभयो।

कर्णाली प्रदेशका नेताहरूलाई नेतृत्वमा समावेश गर्ने विषयमा राखिएको प्रश्नको जवाफमा उहाँले पार्टीले सबै प्रदेश, वर्ग र भूगोलमा सन्तुलित संरचना बनाउने प्रतिबद्धता राखेको बताउँदै महाधिवेशनपछि यसमा स्पष्टता आउने जानकारी दिनुभयो। उहाँले ‘घर फर्का अभियान’का बारेमा स्पष्ट धारणा राख्दै, एमालेसिवाय अन्य विकल्प निर्माण गर्न लागेर असफल भएका कतिपय नेताहरू पुनः एमालेतर्फ फर्किन थालेको उल्लेख गर्नुभयो। तर नीति र नेतृत्वमा असहमति राखेर फर्किन नमिल्ने बताउँदै, संगठनको अनुशासन नै पहिलो आधार रहेको टिप्पणी गर्नुभयो।

महासचिव पोख्रेलले अर्थतन्त्रसम्बन्धी प्रश्नमा सरकारले निरन्तर असफलता प्रदर्शन गरेको दाबी गर्दै निर्माण व्यवसायीको भुक्तानी, राजस्वको गिरावट, कर्मचारी तलबको समस्यासहित वर्तमान आर्थिक सङ्कट सरकारको अक्षमताको नतिजा भएको बताउनुभयो । उहाँले एमालेविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका भ्रान्ति, अफवाह र चरित्रहत्या अभियानलाई ‘घटनाक्रमलाई उल्ट्याएर जनमानसलाई भ्रमित पार्ने प्रक्रिया’को रूपमा चित्रण गर्दै, ‘हाम्रो घरबाट धन–दौलत होइन, पुस्तक मात्र भेटिन्छ; सुशासनका कुरा गर्ने केही पात्रको घर भने अवैध सम्पत्तिले भरिएको पाइन्छ’ भन्ने कटाक्ष गर्नुभयो।

डिप–स्टेट, भूराजनीति र एनजीओ/आइएनजीओको भूमिकाबारे बोल्दै उहाँले पश्चिमी मुलुकहरूले विकासशील राष्ट्रहरूमा ‘कलर रिभोलुसन’जस्ता प्रयोग गर्दै राज्यसत्ता कमजोर पार्ने दीर्घकालीन रणनीति अघि सारेका बताउनुभयो। उहाँले डोनाल्ड ट्रम्पले समेत डिप–स्टेटको प्रभावबारे सार्वजनिक टिप्पणी गरेको उदाहरण दिँदै, भूराजनीतिक दबाबबिच स्वतन्त्र राष्ट्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको तर्क प्रस्तुत गर्नुभयो।

नेतृत्व, परिवर्तन र पार्टीभित्रको अद्यावधिक प्रक्रियाबारे स्पष्ट गर्दै उहाँले कम्युनिस्ट आन्दोलन ‘व्यक्तिमुखी होइन, एजेन्डामुखी’ रहेको उल्लेख गर्नुभयो। उहाँले पार्टीले समयअनुसार नीतिगत तथा संगठनात्मक अद्यावधिक गर्दै जाने बताउनुभयो। अध्यक्षबाट संयोजकको भूमिकामा बस्नु परिवर्तन होइन, संगठनात्मक निरन्तरता हो भन्नेमा स्पष्ट हुन उहाँले आग्रह गर्नुभयो।

उहाँले भदौ २३ र २४ को घटना राज्यद्रोहको स्वरूपमा रहेको, युवालाई मानव ढालको रूपमा प्रयोग गरिएको बताउनुभयो । आन्दोलन र हिंसा बिच स्पष्ट विभाजन हुनुपर्ने पोखरेलको धारणा छ ।

 राष्ट्र कमजोर पार्ने उद्देश्य लिएर गरिएको प्रयत्नको सत्यता बिस्तारै खुल्दै गएको उहाँले बताउनुभयो । जनता भ्रमबाट मुक्त हुँदै एमालेलाई पुनः विश्वास गर्न थालेको दाबी उहाँको छ । उहाँका अनुसार एमालेले इतिहासमा जस्तै अहिले पनि लोकतन्त्र, संविधान र राष्ट्रहितका पक्षमा निर्णायक भूमिका खेल्न तयार रहेको बताउनुभयो।