अर्थ

हाम्रो उद्देश्य करको दायरा बढाउनु हो, करको दर होइन : अर्थमन्त्री खनाल



काठमाडौँ, १ मंसिर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रणालीमा गरिएको सुधार र लगानीको आधार नै देशको आर्थिक विकासको मुख्य मन्त्रणा भएको बताएका छन् । 

आज आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले करदाता र सरकारबिचको सम्बन्धलाई सुमधुर बनाउँदै लगानीको वातावरण सिर्जना गर्नु आवश्यक रहेको धारणा राखे । विगत एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायी तथा उद्यमीहरूलाई धन्यवाद दिँदै अर्थमन्त्री खनालले भने– ‘तपाईंहरूको योगदानले नै हामी समृद्ध समाज निर्माण गर्न सक्छौँ ।’

उनले समाजमा कसैलाई पनि पछाडि पारिएको छैन भन्ने भावनाको विकास गर्न सके मात्रै शान्ति स्थापना हुने बताए । जनआन्दोलनले पनि विभिन्न प्रकारका असन्तुष्टिहरूलाई उजागर गरेको उल्लेख गर्दै उनले राजनीतिक र आर्थिक अवसर प्राप्त नहुँदा मानिसहरू पलायन हुनुपरेको पीडादायी अवस्था रहेको बताए ।

उनकाअनुसार सबै नगरपालिकाहरूमा करदाता सेवाको प्रबन्ध मिलाइने छ र अनलाइनबाटै कर सम्बन्धी काम गर्न सकिने व्यवस्था मिलाइनेछ ।  जोखिममा आधारित कर परीक्षण प्रणाली लागू गरिने र इमानदार व्यवसायीलाई अनावश्यक दुःख नदिइने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘हाम्रो उद्देश्य करको दायरा बढाउनु हो, करको दर होइन ।’ 

उनले आर्थिक गतिविधि विस्तार भएमा कर स्वतः बढ्ने विश्वास व्यक्त गरे। सम्पत्ति राष्ट्रको सम्पत्ति हो भन्ने धारणाको विकास गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘जसले सम्पत्ति सिर्जना गरे पनि त्यो राष्ट्रिय सम्पत्ति हो र त्यसको रक्षा गर्नु सबैको कर्तव्य हो।’