राजनीति

विध्वंसलाई अवसर ठान्ने प्रवृत्ति आज सत्तामा छ: महासचिव पोखरेल



बुटवल, २ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भएको बताउनुभएको छ ।

मजदुर नेता कमल गौतमको स्मृतिमा सोमबार बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै महासचिव पोखरेलले अहिलेको सरकार विध्वंसको माध्यमबाट बनेको बताउनुभयो । ‘राष्ट्रिय विध्वंसलाई अवसर ठान्ने प्रवृत्ति आज सत्तामा छ र उसले आफूलाई पपुलिष्ट बनाउनको लागि श्रमिकहरूको रोजीरोटी खोस्ने काम गरेको छ’, पोखरेलले भन्नुभयो ।

भदौ २३ र २४ को घटना राष्ट्रको लागि अत्यन्त पिडादायी घटना भएको बताउँदै उहाँले कतिपयले यसलाई क्रान्तिको रूपमा परिभाषित गर्ने दुस्साहस गरेका बताउनुभयो । राष्ट्रियतालाई धराशायी बनाउने काम किमार्थ क्रान्ति हुन नसक्ने पोखरेलको धारणा छ ।

नयाँ पुस्तालाई लाञ्छित गरेर जेनजीको नाममा अवसरवादी, अराजकवादी र विदेशीसँग साँठगाँठ गर्नेहरूले भदौ २३ र २४ को घटना गराएका पोखरेलले दाबी गर्नुभयो । जेनजी आन्दोलन हाइज्याक गरेर अहिले तिनै तत्त्वहरूले सत्तामा हालीमुहाली गरिरहेका उहाँको धारणा छ ।

२३ र २४ को घटनाको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको पोखरेलले बताउनुभयो । जसको परिणाम भर्खरै उठ्न लागेको देशको अर्थतन्त्र फेरि पाताल भासिएको उहाँले सुनाउनुभयो । जेनजी आन्दोलनको माग सरकार समक्ष आउँदै नआएको उहाँले बताउनुभयो । नेपालको सत्ता राजनीतिमा कुण्ठा भएकाहरूले नवयुवाको भावनामा खेल्ने प्रयत्न गर्दा राष्ट्रले कहालीलाग्दो क्षति बेहोरेको पोखरेलका धारणा छ ।

भदौ २३ र २४ को घटनाले राष्ट्रको अस्मिता, समृद्धि, सामर्थ्य माथि आक्रमण गरेको उहाँले बताउनुभयो । त्यस्तै नेपालको शान्ति सुरक्षाको आधारस्थम्भको रूपमा रहेको नेपाल प्रहरीको देशव्यापी संरचना तहसनहस बनाउने काम सो घटना मार्फत भएको पोखरेलको भनाइ छ । प्रहरीलाई भौतिक रूपमा समाप्त गर्ने तथा नाङ्गै बनाएर लखेटेर अपमानित गर्ने काम गरिएको उहाँले बताउनुभयो ।