Banner News

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ, २ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न काठमाडौँ प्रशासनले अनुमति दिएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

म्याद थपका लागि प्रसाईंलाई आज जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो । त्यस क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए ।

प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले प्रशासनको कार्यालय अगाडि नाराबाजी गरेका थिए ।

‘राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थनापनाका लागि आन्दोलन’ घोषणा गरेका प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले गए राति पक्राउ गरेको थियो ।