काठमाडौँ, ३ मंसिर । निर्वाचन अगाडि नियमित महाधिवेशनको तालिका ल्याउन दबाब दिँदै आएका कांग्रेस नेता शेखर कोइराला अन्ततः विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
मंगलबार महामन्त्री गगन थापासँगको लामो छलफलपछि कोइराला पनि विशेष महाधिवेशनकै पक्षमा खुलेका हुन् । कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको उक्त छलफलमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान थालेका गुरु घिमिरे, देवराज चालिसेसहितका नेताहरू पनि उपस्थित थिए ।
छलफलका क्रममा कोइरालाले मुख्य गरी दुई सरोकार राखेका थिए । जसमा संस्थापन पक्ष पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिकाको प्रस्ताव गर्न तयार भए त्यसैमा जानुपर्ने, अन्यथा नियमित महाधिवेशन नगर्ने तर तालिका मात्रै ल्याउन खोज्ने अवस्था भएमा विशेष महाधिवेशन निर्विकल्प हुने उनको भनाइ थियो । विशेष महाधिवेशन बोलाउँदा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर प्रमाणीकरण गर्ने काम नगरी केन्द्रीय कार्यसमिति आफैंले बोलाउने गरी निर्णय लिन जोड दिनुपर्ने पनि उनले बताएका थिए ।
१४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित २८ असोजमा नै विशेष महाधिवेशनको माग राखेर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिइसकिएको छ । विधानले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग भएमा त्यसको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ । हस्ताक्षरसहित विशेष महाधिवेशन माग भएको मितिले २८ पुसमा ९० दिन पुग्नेछ ।
यता संस्थापन पक्षका पूर्वपदाधिकारीहरू केन्द्रीय कार्यसमितिको बहुमतबाट निर्वाचन अगाडि नियमित र विशेष दुवै महाधिवेशन अस्वीकार गरेर अघि बढ्नुपर्ने रणनीतिमा लागिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्