राजनीति

तोकिएकै समयमा निर्वाचन नभए मुलुक जोखिममा पर्नसक्छ : मन्त्री खरेल



काठमाडौँ, ३ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताएका छन् । 

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा उनले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरहेको गर्ने तयारीमा लागेको बताएका छन् । उनले निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए । 

मन्त्री खरेलले भने, ‘हामी तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाइरहेका छौँ । आज पनि १२३ वटा राजनीतिक दलसँगको मिटिङ सरकारसँग छ । राजनीतिक दलसँग हामी निरन्तर संवादमा छौँ, त्यो वातावरण बनाइरहेको छौँ । सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडी बढाउने काममा हामी अगाडी बढिरहेका छौँ । यसमा महत्त्वपूर्ण रूपमा जोडिएको सम्मानित संसद्, राष्ट्रिय सभा, समितिका माननीय सदस्यज्यु, समितिका सभापतिज्यूहरू सबैलाई म के अनुरोध गर्न चाहन्छु भने चुनाव हुने बाटोमा मुलुकलाई अगाडी बढाउनुपर्छ । नत्र जोखिम धेरै छन्, हामी अगाडी । यो बाटोमा अगाडी बढाउने कुराहरूमा माननीयज्युहरुको, सभापतिको महत्त्वपूर्ण भूमिका हुन्छ ।’