राजनीति

जसपा नेपालको सङ्घर्षका कार्यक्रम आजदेखि सुरु



काठमाडौँ, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

त्यसैगरी जसपा नेपालले मङ्सिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।

जसपा नेपालले मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मङ्सिर २७ गते देखि पौष ४ गते सम्म जिल्ला स्तरीय विरोध सभा/जनसभा आयोजना गर्ने बताइएको छ ।