Banner News

स्वदेशमा नै श्रम गरेर बस्ने वातावरण तयार हुनुपर्छ : प्रधानमन्त्री कार्की



काठमाडौँ, ११ मंसिर ।  प्रधानमन्त्री सुशीला कार्कीले एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी छन् ।

आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तर पुस्ता लागत सन्तुलन र समतामूलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्यता देखिएको बताइन् ।

प्रधानमन्त्री कार्कीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको सफल कार्यान्वयनबाट हरेक नागरिकलाई स्वदेशमा नै श्रम गरेर बस्ने वातावरण तयार हुने र समग्र उत्पादकत्व अभिवृद्धि गर्ने आधार निर्माण गर्न सकिने विश्वास व्यक्त गरिन् ।

उनले सामाजिक सुरक्षाको सफल कार्यान्वयबाट नै हुनेले नहुनेलाई, धनीले गरिबलाई, निरोगीले रोगीलाई प्रणालीबद्ध रूपले सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमूलक समाजको निर्माण हुने जिकिर गरिन् ।