राजनीति

सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की



काठमाडौँ, १४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको प्रस्ट पारेकी छन् । 

उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सवैमा अनुरोध समेत गरेकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएको भन्दै प्रधानमन्त्रीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको बताएकी हुन् । 

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’

मङ्सिर ९ गते आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुसलमानहरूको प्रवृत्ति–व्यवहार अन्यायपूर्ण देखिएको बताएकी थिइन् । उनले उक्त समुदायमा जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको बताएकी थिइन् ।