Banner News

चुनावी प्रतिस्पर्धाका लागि आयोगमा ११९ दलको निवेदन



काठमाडौँ, १५ मंसिर । आगामी प्रतिनिधिसभा निर्वाचनमा उत्रन ११९ दल तयार देखिएका छन् ।

निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराउने समयसीमा आइतबार सकिँदासम्म ११९ दलबाट १२० वटा निवेदन परेको छ । 

निर्वाचन आयोगका अनुसार १४ दलबाट दुई वा त्यसभन्दा बढी दल मिलेर एकल चुनाव चिह्न लिने गरी ६ वटा निवेदन परेका छन् । तिनैमध्येका ९ दलले छुट्टाछुट्टै निवेदन पनि आयोगमा बुझाएका छन् । त्यसबाहेक एक्लै चुनाव लड्ने गरी १०५ दलबाट प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन आएको आयोगले जनाएको छ ।

पुराना राजनीतिक शक्तिलाई चुनौती दिन एक महिनायता मात्र दर्ता भएका २५ दल पनि अघि सरेका छन् । त्यसबाहेक आयोगमा दर्ता रहेका अन्य दल पनि चुनावमा जाने तयारीमा छन् । निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या भने १४३ पुगेको छ ।