समाचार

जनकपुरमा एक महिला मृत फेला



 काठमाडौँ, १५ मंसिर । जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

सो घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झाको गत बिहीबार राति मृत फेला परेकी थिइन् ।

घरका सदस्यहरुले रोशनीले पासो लगाएर आत्महत्या गरेको जानकारी माइती पक्षलाई दिएका थिए । माइती पक्षले भने घरकै सदस्यहरु मिलेर रोशनीको हत्या गरेको आरोप लगाएको छ ।

रोशनीको माइत घर धनुषाको नगराइन नगरपालिका २ जटही हो । उनको चार वर्ष अघि सामाजिक परम्परा अनुसार प्रशान्त मिश्रसँगको बिहे भएको थियो । रोशनीका पति प्रशान्त मधेश प्रदेशको नीति तथा योजना आयोगका कर्मचारी हुन् ।

अहिलेसम्म मृतकको घाँटीमा डाम मात्र देखिएको र पोस्टमार्टम रिपोर्ट पश्चात मात्र हत्या हो कि आत्महत्या हो भनेर निष्कर्षमा पुगिने प्रहरीले जनाएको छ ।

रोशनीका मामा प्रदीप चौधरी भने घटनाको प्रकृति हत्या गरेको जस्तो देखिएको बताउँछन् । प्रमाण नष्ट गर्न उनका कपडाहरु पनि जलाइएको बताउँदै उनी भन्छन्, ‘हामीलाई भान्जीको हत्या भएको शंका छ । त्यसैले सत्यतथ्य बाहिर ल्याउनुपर्छ । दोषीहरुलाई कडा कारबाही हुनुपर्छ,’ उनी भन्छन् ।