Banner News

फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल



काठमाडौँ, १६ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने बताएका छन् ।

आज गृह मन्त्रालयले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार बरामद गर्ने क्रम जारी रहेको जानकारी गराए । उनले चुनावसम्म सबै नियन्त्रणमा लिइसक्ने दाबीसमेत गरे ।

उनले भने, ‘फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने क्रम पछिल्लो दिनमा वृद्धि भएको छ । फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन,’ ‘यो कारणले निर्वाचन नै बिथोलिने हामीले हुन दिदैनौँ । तीनलाई हामीले फिर्ता ल्याएरै छाड्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’