अर्थ

कोटेश्वर चोकमा फ्लाइओभर बनाउन ऋणका लागि जापानसँग सम्झौता



काठमाडौँ, १७ मंसिर । कोटेश्वर चोकमा फ्लाइओभर निर्माणका लागि जापानले नेपाललाई करिब ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ ।

आज अर्थ मन्त्रालयमा ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । 

ऋण सहायतासँग सम्बन्धित  एक्स्चेञ्ज अफ नोटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा  तोरुले हस्ताक्षर गरे । त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह-सचिव डा. धनीराम शर्मा र जापान सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे ।

जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ। यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ ।

यसले काठमाडौँ, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।