काठमाडौं, मंसिर १९। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गतेबाट सुरु हुने पार्टी महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।
उहाँले अपिलमार्फत राष्ट्रियता, लोकतान्त्रिक प्रणाली र सुशासनको पक्षमा एमालेलाई ‘७७ वर्षको जनयात्रामा सदैव जनताको साथमा उभिएको शक्ति’ भन्दै आगामी महाधिवेशनमा व्यापक उपस्थितिका लागि आह्वान गर्नुभएको छ ।
अध्यक्ष ओलीले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथि, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल–सुखी नेपालीको स्वप्नद्रष्टा पार्टीका रूपमा चित्रण गर्दै वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर चुनौतीको समय बताउनुभएको छ ।
उहाँले हालै प्रतिनिधि सभा असंवैधानिक रूपमा विघटन गरिनु, जनादेश प्राप्त सरकार विस्थापित गरिनु, विधिको शासन कमजोर बनाइनु र अराजक समूहहरूको सक्रियता बढ्नु देशको स्थायित्वविरुद्धको षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीका अनुसार देशका मुख्य धरोहरमाथि भएको आपराधिक आक्रमणमा कारबाही नहुनुले समाजमा भय र असहजता सिर्जना गर्ने अवस्था बनेको छ । निर्वाचन घोषणा भए पनि त्यसका पूर्व सर्तकारूपमा आवश्यक निर्भयताको वातावरण निर्माण नभएको भन्दै उहाँले स्थापित पार्टी, नेतृत्व र संविधानविरुद्ध निषेध र घृणाको राजनीति बढाइएको बताउनुभएको छ ।
‘लोकतन्त्र फर्काउनु छ, राष्ट्रियता तथा संविधान विरुद्धका षड्यन्त्र परास्त गर्नु छ, यस्तो विशेष परिस्थितिमा हुन गइरहेको महाधिवेशनको ऐतिहासिक महत्त्व छ’, ओलीको अपिलमा उल्लेख छ । अध्यक्ष ओलीले महाधिवेशनमा सहभागी हुने जनसमुदायको उपस्थिति नै नेपाली जनताको लोकतान्त्रिक सामर्थ्यको अभिव्यक्ति हुने उल्लेख गर्दै मङ्सिर २७ गते दिउँसो साढे १२ बजे भक्तपुर सल्लाघारीमा उपस्थितिका लागि आमन्त्रण गर्नुभएको छ । ‘महाधिवेशनमा तपाईँको उपस्थितिले नेपाली जनताको लोकतान्त्रिक सामर्थ्यलाई प्रकट गर्ने छ, मंसिर २७ गते तपाईँको एक दिनको योगदानले अराजकता र प्रतिगमन नियन्त्रण गर्न सहयोग पुग्ने छ, महाधिवेशनको भव्य सफलताले लोकतन्त्र बलियो बनाउने छ’, उहाँको अपिल छ ।










प्रतिक्रिया दिनुहोस्