काठमाडौँ, १९ मंसिर । सरकारले फिर्ता बोलाएका मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन् ।
सरकारले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो । तीमध्ये हालसम्म ६ जनाले राजीनामा दिएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राजीनामा दिएका ६ जनाकै राजीनामा स्वीकृत भइसकेको छ ।
पछिल्लो समय रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका हुन् ।
यसअघि लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली (चीन), चन्द्रकुमार घिमिरे (बेलायत), रमेशचन्द्र पौडेल (कतार) ले राजीनामा दिएका थिए ।
विदेशबाट फर्किए लगत्तै उनीहरूको राजीनामा आएको र सरकारले स्वीकृत समेत गरिसकेको छ ।
उनीहरूले गरिरहेको कार्यप्रगतिप्रति प्रश्न उठाउँदै सरकारले ३० असोजमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।
रिट निवेदनमा सर्वोच्चले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलाग्दासम्म फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।
सर्वोच्चको अन्तरिम आदेशपछि सरकारले घुमाउरो पारामा उनीहरूलाई मन्त्रालयमा हाजिर भएर कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो ।
परराष्ट्रले पत्र पठाएर उनीहरूलाई मन्त्रालयमा हाजिर गरी कामकाज गर्न भनिएको थियो । मन्त्रालयमा कामकाज गर्ने गरी बोलाइएका ६ राजदूत बाहेक शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी (जापान) छन् । उनीहरू भने परराष्ट्र मन्त्रालयमा दैनिक हाजिर गरेर कामकाज गर्दै आएका छन् ।
उनीहरूले भने सर्वोच्चको मुद्दाको टुंगो लागेपछि मात्रै निर्णय गर्ने बताउँदै त्यतिन्जेलसम्म सरकारको निर्णय अनुसार मन्त्रालयमा जाने गरेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्