समाचार

१२ जना जुवाडे पक्राउ



काठमाडौँ, १९ मंसिर । प्रहरीले मुस्ताङको जोमसोमबाट १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित एक रेस्टुरेन्टमा छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो ।

ईन क्याफे एन्ड रेस्टुरेन्टमा सञ्चालित जुवा खालबाट १ लाख २१ हजार ६४० रुपैयाँ नगद बरामद गरेको छ । सो रेस्टुरेन्ट स्थानीय गणेश शेरचनले सञ्चालन गरेका हुन् ।

पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक गणेश शेरचन, सुनिलकुमार शेरचन, सञ्जय थकाली, ढिङडुक गुरुङ, सन्तबहादुर मजाकोटी, महेश थकाली, फलेन्द्रप्रसाद थकाली, रविकुमार थकाली, राजेन्द्र शेरचन, श्यामराज बराल आङपासाङ शेर्पा र सदिप राना छन् । जुवा मुद्दामा म्याद लिएर आरोपीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।