Banner News

चुनावबाट एमाले भाग्दैन : उपमहासचिव ज्ञवाली



भक्तपुर, २० मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले कहिल्यै निर्वाचनबाट नभागेको र भविष्यमा पनि नभाग्ने स्पष्ट पार्नु भएको छ ।

शुक्रबार नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ११ औँ राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धी जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको लागि  निष्पक्ष, सुरक्षित र जनआस्थायोग्य वातावरण बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो । मतदाताले निर्भय भएर मतदान गर्न पाउने स्थिति निर्माण नगरी चुनावमा जानुपर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, ‘चुनावबाट एमाले भाग्दैन, भागेको पनि छैन, कसले चुनाव गराउँछ भन्ने सरोकार पनि एमालेले राख्दैन, तर मुख्य कुरा के हो भने-नेताहरू निर्धक्क भएर जनतामाझ जान पाउन्, जनताले पनि नडराई मतदान गर्न पाउन्, यस्तो आधार निर्माण गर्नु राज्यको कर्तव्य हो।’

उपमहासचिव ज्ञवालीले ५७ सय कैदी अझै फरार रहेको, लुटेर लगिएका हतियार बरामद नभएको र अराजक समूहको हुलदङ्गा बढिरहेको अवस्थाले निर्वाचन सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको बताउनु भयो। उहाँका अनुसार यस्ता चुनौतीपूर्ण अवस्थामा स्वच्छ र स्वतन्त्र निर्वाचनको वातावरण निर्माण गर्नु सरकारको प्राथमिक दायित्व हो।

देशमा जेनजीका नाममा रामनामी र खास्टो ओढेर ४० वर्ष नाघेका व्यक्तिहरूले उद्दण्डता मच्चाइरहेका बताउँदै उहाँले वर्तमान राजनीतिक जटिलताबाट निस्कन संसद् पुनर्स्थापना गरी जेनजी सहितको सर्वदलीय सरकार गठन गर्न सकिने सुझाव दिनुभयो। उहाँका अनुसार यस्तो सरकारमार्फत जेनजीका भावना अनुसार संविधान संशोधन गरी त्यसपछि चुनावमा जानु उपयुक्त हुन्छ।

उहाँले हाल एमालेमाथि चौतर्फी हमला भइरहेको उल्लेख गर्दै पार्टी महाधिवेशनलाई एकताबद्ध ढङ्गले, देश–संविधान–लोकतन्त्रलाई प्राथमिकतामा राखेर सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। सहमति नजुटेमा प्रजातान्त्रिक विधिबाट अघि बढ्न सकिने बताउँदै उहाँले पुस १ गतेदेखि मुलुकको राजनीतिक दिशा स्पष्ट हुने दाबी गर्नुभयो।

महाधिवेशन उद्घाटन समारोहलाई भव्य बनाउन अध्यक्षको हस्ताक्षर रहेको निमन्त्रणापत्र घर–घरमा पुर्‍याउन निर्देशन दिँदै उहाँले भक्तपुरको सल्लाघारीमा पूर्वतिर जगाती र पश्चिमतिर जडीबुटीदेखि आउने र्‍यालीहरू एकीकृत हुँदै डेढ लाखभन्दा बढी सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य सोम मिश्र र निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजा तथा उपाध्यक्ष एवं वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालगायत नेताहरूले महाधिवेशनलाई भव्य तथा सफलतापूर्वक सम्पन्न गर्न सबै तह–स्तरबाट तयारी भइरहेको जानकारी दिनुभयो।