ललितपुर, २० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिवार यहाँ उद्घाटन गर्दै सो धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।
उनले भने, ‘पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता हो, यसका लागि सेवा प्रवाहमा चुस्तता र सुशासन महत्त्वपूर्ण पक्ष हो भन्ने म ठान्दछु । लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरूप काम गर्ने संस्कार र शैली हो, र यो लोकहितमा समर्पित हुने असल आचरण र चरित्र पनि हो, यो मर्म र भावना बुझेर अघि बढ्ने नेतृत्व र जनप्रतिनिधिको दृढ इच्छाले मात्र भौतिक विकाससँगै नागरिकको मुहारमा खुसी ल्याउन र व्यवस्थाप्रति भरोसा जागृत गराउन सक्छ ।’
उनले नयाँ पुस्ताको चाहना पनि सेवा प्रवाहमा चुस्ततासहित सुशासनको माध्यमबाट मुलुकको विकास गर्दै यही व्यवस्थामा मात्र हाम्रो भविष्य सुरक्षित छ भनेर जनतामा भरोसा जागृत गराउनुपर्दछ भन्ने नै भएको बताए । ‘नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रुपान्तण गर्दै लैजानु आजको हाम्रो साझा दायित्व हो भन्ने म ठान्दछु’, राष्ट्रपति पौडेलले भने ।










प्रतिक्रिया दिनुहोस्