समाचार

रेडक्रसको एम्बुलेन्सभित्र ५१ किलो गाँजा



सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न लागेको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यसका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ ।

उता, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।