Banner News

मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की



काठमाडौँ, २४ मंसिर  । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार भएको बताएकी छन् ।

आज ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइन; यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो’, ‘जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्; विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ ।’

उनले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनबद्धता व्यक्त गर्दै पारदर्शिता र जबाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन नसक्ने बताइन् ।

फरक प्रसङ्गमा प्रधानमन्त्री कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको पनि स्मरण गराइन् । ‘नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो। २०८२ फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ’, प्रधानमन्त्रीको भनाइ छ ।