समाचार

नाबालिग बलात्कार अभियोगमा एक नेता पक्राउ



काठमाडौँ, २४ मंसिर । नाबालिग बलात्कार अभियोगमा प्रहरीले एमाले नेता शिवशंकर साह (हिरा)लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ गरी  मंगलबार राति धनुषा ल्याइएको हो ।

प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाउनासाथ साह भारततर्फ फरार भएका थिए । फरारपछि प्रहरीले निगरानी बढाउँदै भारतीय काउन्टरपार्टसँग समन्वय गरी सीतामढीबाट उनलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी, नाबालिगका मामा सञ्जय महासेठलाई पनि प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ ।

महासेठले घटनालाई कानुनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाटै रकमसमेत लिएको आरोप छ ।

प्रहरीका अनुसार गत कार्तिक २२ गते जानकी चोकस्थित एक होटेलमा १३ वर्ष ४ महिनाकी नाबालिगलाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको थियो । सो घटनामा संलग्न अभियोगमा जनकपुरधाम उपमहानगरपालिका–१० का स्वर्गीय किशोरीलाल साहका छोरा मनोजकुमार साहलाई यसअघि नै काठमाडौँबाट पक्राउ गरी धनुषा ल्याइसकिएको छ । मनोज साहको बयानका आधारमा हिरा साहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, जसमा दुई जना अझै फरार छन् ।

प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरको नेतृत्वमा अनुसन्धान अघि बढाइएको छ। केही राजनीतिक दबाब आए पनि प्रहरीले जघन्य अपराधमा संलग्न सबैलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारेको छ ।