समाचार

ट्रक र कार ठोक्किँदा एक जना वृद्धको मृत्यु



रौतहट, २६ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । 

चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम तिरको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशा तर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार ओभर टेक गर्ने क्रममा शुक्रवार बिहान ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी कारमा सवार वृद्धको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

डीएसपी रुपा लाबुङका अनुसार दुर्घटनामा परी बाराको निजगढ नगरपालिका घर भएका कार चालक दिनेश थपलियाको टाउको र अनुहारमा चोट लागेको छ । चन्द्रपुर–६ घर भएका डोरमणि सापकोटालाई चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।