राजनीति

संस्थापनबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी



काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन समूहबाट १५ औँ महाधिवेशनमा आफ्नो दाबी रहेको बताएका छन् ।

शुक्रबार बिहान काठमाडौँको महाराजगन्जमा अनलाइन मिडियाका केही पत्रकारहरूसँग प्रवक्ता महतले समूहले आपसी सहमतिमा एउटामात्रै उम्मेदवार बनाउने प्रयास गर्ने बताए । सभापति शेरबहादुर देउवा र उनी निकटमा देशभरका कार्यकर्तासँग आफ्नो अट्याचमेन्ट रहेको बताउँदै उनीहरूको भावनालाई कदर गर्न पनि आफूले समूहका नेताहरूको बैठकमा सभापतिमा दाबी राखेको बताए । सभापतिमा कसलाई अघि सार्ने भन्नेमा समूहले कुनै निष्कर्ष निकालिनसकेको डा. महतले बताए ।

‘हाम्रो समूहबाछ १५ औँ महाधिवेशनमा सभापतिमा मेरो दाबी रहन्छ,’ प्रवक्ता डा. महतले भने, ‘सभापतिज्यूसँग निकटमा रहेर लामो समय काम गरे । उहाँसँग जोडिएका देशभरका नेता कार्यकर्तासँग मेरो अट्याचमेन्ट छ । उनीहरूको भावनालाई कदर गर्न र मेरो राजनीतिको दामो दौरानले सभापतिमा दाबी राखेको हुँ ।’

संस्थापनबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित डा.महतसमेत जोडिएको ‘७ भाइ’का नामबाट परिचित पूर्वपदाधिकारीहरूले बैठक बसेर सभापतिमा दाबी राखिरहेका छन् । ७ भाइमा पूर्वउपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइरालाले सभापतिमा दाबी राखिरहेका थिए । त्यो समूहमा डा. महत र विजयकुमार गच्छदारले सभापतिमा दाबी गरेका थिएनन् । डा. महतले पनि आफ्नो दाबी प्रस्तुत गरेपछि संस्थापनमा सभापतिमा दाबी गर्नेको संख्या ७ पुगेको छ ।